१७ बर्ष सम्म निरन्तर बर्षेनी १०/१२ दिनको त्यो यात्रा, भिन्न भिन्न सहयात्रीहरु संगको त्यो अविस्मरणीय र रोमान्चक यात्रा । कहिले ढुंगा खस्ने कहिले पहिरो कहिँले हिउँमा फस्ने कति कति कठ्यांग्रिने रातहरुको निराशा र जीवन मृत्युका संघर्षहरु । चिसो नदिहरु थिचोल्दै साघुरो गोरेटोहरु हुदै, हिउँमा चिप्लेटी खेल्दै बिकराल हिमशिखरहरु माथिको विजय उत्सवहरु ।
असुविधाहरु, अभाबहरुसंगै अशिक्षा अज्ञानता चेतनाको कमि जस्ता अन्धकार मा फाइदा उठाईरहेका विकृत भ्रष्ट मनस्थितिका व्यक्तिहरुसंगको लामो युद्ध । युद्ध लडेर होइन, कर्म बाट विजय प्राप्त गर्दै । फरक भाषा, संस्कृति जीवनमा घिल्मिल हुदै रोम्बा (बाहिरको मान्छे)को उपनाम देखि उनीहरुको हुरी मी (हाम्रो मान्छे), लामा, घाँग्ज़ोङ सर Sir of the Himalayas को उपाधि उपनाम पाएको सम्मको यात्रा ।
अहिले सम्झिदा हिजो जस्तो लाग्छ सबैले नजा नजा भन्दा भन्दै सबैलाई रुवाएर डोल्पा तिर लागेको पनि १६,१७ बर्ष पुगेछ । समाज सेवामा दत्त चित्त भएर बिद्यालय पछी देखि लागेरहें पनि मेरो पहिलो लक्ष्य भनेको चित्रकला, अभिनय नै थियो । जीवन मृत्युको संघर्ष गर्दै बिकराल हिमशिखर पार गरि पुग्नु पर्ने उप्पल्लो डोल्पा पुगें पछी देखि मेरा सबै इच्छा आकांक्षालाई त्याग गरि मैले सम्पूर्ण जीवन यहि ठाउँको लागि नै समर्पित गर्छु भन्ने प्रण गरें । यति दुख कष्ट हुदाहुदैपनि थाहा छैन किन त्यो ठाउँ संग यति धेरै लगाब भयो । संगै गएका साथीहरु बर्षदिन तथा केहि महिना पनि बस्न सकेन । त्यहाँ बाट पलायन भएका केहि स्थानीयहरुले नै हाम्रो ठाउँ त धेरै गार्हो छ यस्तो ठाउँ मा पनि को बस्छ भन्थ्यो । हुन त मलाई पनि शुरुवातका दिनहरुमा त्रास, निराशा, बहिस्कार, तिरस्कार चित्त दुखाइले गर्दा त्यो ६ महिना को कार्यकाल सके पछी कहिले नफर्किने गरि जान्छु भन्ने लागेको थियो । तर त्यी बालबालिकाहरु, गाउँले साथीभाई आमा दिदीबहिनीहरु किन किन आफनै लाग्न थाल्यो । त्यी सब बिचरा लाग्थ्यो कति दुख हो । बच्चा होस् बृद्ध होस् सबैले दुख गर्नै पर्ने । केवल सामान्य आधारभूत आबस्यकता पुरा गर्न पनि कति दुख गर्नु पर्ने । बाह्रौं शताब्दीका जस्तै यहाँका मानिसहरु केबल गाँस बास र कपासका लागि मात्र कडा मेहनत गर्दै गोबर टिप्दै, भेडाच्यांग्रा चउँदै, ऊन बुन्दै, याक संग बर्षेनी हिउँद तल्लो डोल्पातिर बसाईसराई गर्दै प्रकृति संग संघर्ष गर्दै कठिन जीवनयापन गर्दैछन् ।
यहि अवस्था देखेर उहाहरुका लागि त्यो ठाउँका लागि केहि गर्नु पर्छ भन्ने लाग्यो । र यहि मेरो देश र यो समाज को लागि केहि गर्ने अवसर हो भन्ने प्रबल भावना मनमा आए पछी मैले यहि क्षेत्र को लागि केहि गर्छु भन्ने प्रण गरें र बिशेष रुपमा त्यो क्षेत्र को शैक्षिक विकासमा आफुलाई समर्पित गर्दैगएं । शुरुमा बिकट भूगोल, भिन्न संस्कृति, भाषा, सचेतनाको कमि र फोहोरी राजनीति आदि कारणले त्यहाको समुदाय संग भिज्न उनिहरुबाट आफ्नो हो भन्ने स्वकार्य हुन नै धेरै संघर्ष गर्नु पर्यो | अर्को विकास, स्वस्थ, शिक्षाको महत्व बुझाउदै बालबालिका हरुलाई कक्षा कोठा सम्म ल्याउन पनि अर्को ठुलो संघर्ष थियो | उहाहरुकै भाषा, भेषभुषा सिक्दै जीवन सस्कृति लाई अंगाल्दै भिज्दै उहाहरुलाई सचेत बनाउदै गएँ ।
पठनपाठन र कक्षा कोठामा मात्र आफुलाई सिमित नराखी अतिरिक्त क्रियाकलाप, आफुले जानेका जीवन जगतका कुराहरु सिकाउन सुनाउन थाल्यौं । विद्यार्थीले मात्र नभएर अभिभाबकले पनि सिक्नु पर्छ भन्ने हेतुले प्रौद्ध कक्षासंचालन गरें । शुक्रबार शनिबार बिदाका दिनहरुलाई सदुपयोग गर्दै ४/५ घण्टा हिडेर हिमालपरिको गाउँ जान्थें । त्यहाका बिद्यालय आउन नपाउने बालबालिकाहरुलाई पढाउथ्यें । घाउ चोटपटक लागेकाका लागि मलमपट्टी र पोलियो,भिटामिन ए, जुका का औषधिहरु वितरण गर्न गाउँ गाउँ घर घर पुग्थ्यौं । संगै काठमाण्डौबाट औषधि र अरु आबस्यक सामग्रीहरु संकलन गरि स्वास्थ्य केन्द्रमा वितरण पनि गरें । संचालनमा नआएको क्याराभान हिरो थिन्लेको स्वस्थ्यकेन्द्रमा मेरा पुर्व विद्यार्थी नर्सलाई स्वास्थ्यकर्मीको रुपमा पनि नियुक्त गरेर स्वास्थ्य सेवा प्रदान गर्न लगाए । शे चाकांग गुम्बामा पुराना धार्मिक पुस्तक हरुको संरक्षण गर्न छोर्तेन स्तुपा निर्माण गर्न सहयोग जुताइदिएं । पछी सरकार ले स्थापना गरिदिएका तर कहिले संचालन मा नआएका विद्यालय हरु पुन: स्थापना गर्ने अभियान शुरु गरें त्यहि शिलशिलामा शे फोकसुन्दो गाउँ पालिका अन्तर्गत कोमा गाउँ मा सन् २००८ मा श्री दशरथचन्द आधारभूत विद्यालय र निजालगाउँमा सन् २०१० यांग्जेर गुम्बा आधारभूत विद्यालय स्थानीय साथीहरुसंग मिलेर पुनस्थापना गरें ।
भर्खरको युवा अवस्थामा जीवनको लक्ष्य के हो भनि सोध्दा म नायक - वास्तविक जीवन को नायक बन्न चाहन्छु भन्थ्यें । त्यहि नायक बन्ने प्रबल चाहना ले गर्दा म अपराध संग लड्ने क्राइम फाइटर बन्ने विचार गरे (धन्न त्यो विचार त्यागें र कुनै गलत बाटो गएन छु) । त्यही नायक बन्ने चाहनाले म सामाजिक कार्यहरुमा लागि परें र त्यहि नायक बन्ने कोशिसमा देश कै सबभन्दा दुर्गम उपल्लो डोल्पा पुर्यायो र डोल्पा को शैक्षिक बिकासमा यति धेरै गर्ने आँट र जोश दियो । सांच्चै नायक बने कि भन्ने भान पनि भयो । तर त्यो संगै नायक बन्नु, रक्षक बन्नु, भगवान बन्नु कति सम्म उचित छ कति जायज छ भन्ने प्रश्नहरु आफैभित्र उठ्दैगयो । नायक बन्ने, भगवान बन्ने कोशिसमा समाजलाई झन् हामीले विचरा पात्र बनाउदैछौँ कि झन् हामीले उनीहरुलाई नायक र भगवान को मात्रै अपेक्षा गर्ने बनाउदै छौँ कि । र हामी जस्ता कति नायक भगवानहरुले साँच्चै नै उहाँहरुको को लागि काम गर्दैछौं कि आफनै स्वार्थ आफ्नै राजनीति, प्रभुत्व जमाउने र मागी खाने भाडो बनाउन मात्र काम गर्दैछौं भन्ने कुराहरु, विचारहरु मनमा आउन थाल्यो । यस्तै यस्तै कुराहरुलाइ मनन गरी कुनै नायक वा भगवानको मात्र अपेक्षा गर्ने भन्दा हामी सबैले आफैले आफ्नो गाउँ समुदायको विकास प्रगतिमा कसैको भर नपरी आफैले केहि गरेर आफै नायक बन्न अभिप्रेरित गर्दै सबैलाई जिम्मेवार बनाउने उदेश्यले नेपाली मात्र को साथ सहयोग मा स्कूल शुरु गर्यौं र समुहका साथीहरु स्थानीय उपत्यका लगाएत सुगम सहर का र बिश्व भरिका नेपालीहरुबाट साथ पाएर डोल्पा भरि यो अभियान अन्तर्गत धेरै गाउँहरुमा विस्तार गर्यौं ।
डोल्पा जस्तो दुर्गम यो एक नौलो कठिन किसिमको कार्यक्रम थियो । संसार एकातिर र म अर्को तिर थिए । संसार जसरि चल्दैथियो त्यो भन्दा अर्को बाटो म लागिरहेको थिए । संसार जसरी चल्दैछ त्यो भन्दा मैले जुन बाटो रोजे त्यो चाहिं वास्तविक आबस्यकता हो भन्ने मलाई पूर्ण विश्वास थियो । कतिले यसरी पनि हुन्छ यो त हुने सक्दैन नेपाली ले सियो त बनाएको छैन कहाँ आफैले स्कूल गाउँ विकास गर्न सक्छ भन्ने कुरा हरु आए । तर पनि मेरो आफ्नो कर्म, लक्ष्यमा मलाई पुरा विश्वास थियो । यहि नै अहिले को परम आबस्यकता हो भनि आफ्नो पथमा अथक र निरन्तर लागि परें र अन्त्य मा धेरै संघर्ष पछी मैले संसारको साथ पाएँ ।
१ विद्यालय, ३२ जना विद्यार्थी र हामी २,३ जना शिक्षकहरुबाट शुरु भएको यो कार्यक्रममा अहिले सम्म ६१ जना स्वयंसेवक याक शिक्षकहरुबाट १६ विद्यालयहरु , १६००+ विद्यार्थीहरुलाई लाभाम्बित भएका छन् । डोल्पा को १३% जनसंख्यालाई हामीले सचेत बनाएका छौं । स्थानीय समुदाय देखि लिएर देश विदेशबाट हजारौ लाखौ साथी सहयोगीहरु, युवा, बालबालिका, गृहिणी आमा दिदिहरुले साथ दिनु भएको छ ।
यो एक चरणको काम त पुरा भयो हामीले हाम्रोसमाज, दुर्गम क्षेत्र र देशका लागि जिम्मेवार हुन अभिप्रेरित त गर्यौं जिम्मेवारी संगै सक्षमता सिप पनि प्रदान गर्दै जानु अति आबस्यक छ । शिक्षामा आमुल परिवर्तन ल्याउन, संगै शिक्षा संग स्थानीय जीवन, संस्कृति, कुसल नेतृत्व, ब्यबस्थापन क्षमता विकास, सामाजिक- आर्थिक विकास जोडिनु पर्छ । यो सब गर्न म क्रियसन नेपालमा आबद्ध भएर कर्णाली शिक्षा अभियान प्रारम्भ गरेका छौं ।
कर्णाली शिक्षा अभियानको यो अभियानबाट हामीले सक्षम विद्यार्थी, युवा, महिला समुदायको नेतृत्व मा एक नमुना गाउँ बनाइ देश र विश्वलाई सकारात्मक संदेश र उत्प्रेरणा दिने हाम्रो उदेश्य छ । क्रियसन नेपालका साथी सहकर्मीहरुको साथ सहकार्य मा यो सपना पनि पुरा हुदै गरेको देख्दैछु ।